आफूमाथि भएको ज्यादती र शोषणको विरोधमा आवाज उठाउँदैमा आफ्नो खाइपाई आएको जागिर नै चट हुन्छ भनेर शङ्कर पासवानले सायदै सोचेका थिए । तर मधेसी दलित भएकै कारण र आफूमाथि गरिएको छुवाछुत, भेदभावजन्य एवम् यातनापूर्ण अमानवीय व्यवहारविरुद्ध मुख खोलेकै कारण उनले जागिरबाट हात धुनुपरेको छ । सुनसरी–५ का शङ्कर पासवानको यो यथार्थ सुन्दा कथा झै लाग्नसक्छ, तर नौ महिनादेखि राजधानीमा भौँतारिँदै हिँडेका उनको दैनिकीलाई बुझे छर्लङ्ग हुन्छ ।
विसं. २०५० सालमा नेपाली सेनामा जागिर खाएका पासवान दलित जाति भएकै कारण आफूमाथि भएको छुवाछुत र अमानवीय यातनापूर्ण व्यवहारविरुद्ध आवाज उठाउँदा २०५६ सालमा जागिरबाट निकालिए ।
सेनाको कनिष्ठ सिपाही दर्जामा जागिर खाएका पासवान खाना खाने बेलामा यातना सहन बाध्य हुन्थे, जतिबेला उनी धनकुटाको सल्लेरी छाउनीमा कार्यरत थिए ।
“म जागिरमा छँदा जहिले पनि त्यहाँ अमानवीय व्यवहार हुन्थ्यो ठूलाले सानालाई र पुरानाले नयाँलाई हेप्ने परिपाटी त सामान्य थियो, तर म दलित मधेशी भएकाले खाना खाने बेलामा जहिले पनि छुवाछुत गरिन्थ्यो । किन यसो गरिन्छ भनेर आवाज उठाउँदा जवाफमा उनले अनेकौँ यातना पाउँथे अन्ततः जागिर नै चट भयो ।”– पासवानले भने ।
खानाखाने समयमा मात्र हैन पासवानले अन्य कार्यमा पनि उत्तिकै छुवाछुत र भेदभावयुक्त व्यवहारको सिकार हुनुप¥थ्यो ।
साधारण लेखपढ मात्र गरेका पासवान हिम्मतका साथ आफूमाथिको पीडा उजागर गर्न खोज्दा जागिरबाट निकाला मात्र भएनन् पाउनसम्मको यातना पाए ।
कहिले सिंहदरबार मूलढोकाका अगाडिको पेटी, कहिले बबरमहलको विश्रामस्थल त कहिले बागमती झोलुङ्गे पुलमुनि समय काट्नु यतिबेला उनको दैनिकी बनेको छ ।
“दलित भएको र छुवाछुतजन्य व्यवहार र यातनाको बारेमा कुरा उठाउँदा आफ्नो जागिरै गुमाउनु प¥यो” पाँच दिनदेखि भोकै अवस्थामा ललितपुर यूएन पार्कसँगैको पुलमनि भेटिएका पासवानले भने ।
पहिला सिंहदरबार गेट अघिल्तिर सुत्ने गरेकोमा सुरक्षाकर्मीले लखेटेपछि अहिले पुलमुनि बस्दै आएको उनले बताए ।
“पछिल्लो समयमा यहाँ बस्दै आएको छु । पानी पर्दा असाध्यै समस्या हुन्छ । एकचोटी त बागमतीमा आएको भेलले राति सुतेको अवस्थामा कसो बगाएन”–उनले भने ।
पछिल्लो समयमा यूएन पार्कसँगै बागमतिको झोलुङेगे पूलमुनि बस्दै आएका पासवानसँग सामानका नाममा एकमात्र पकाउने डेक्ची छ । यसैमा उनी पकाउने र प्लास्टिकमा राखेर खाने गर्दै आएका छन् । दैनिक एकछाक मात्र खान वाध्य छन् ।
काठमाडौंमा करिब सय ठाउँमा काम गरेपनि कहीँ पनि दिगो रूपमा टिक्न सकेनन् पासवान ।
सेनाको जागिरबाट निकाला भएपछि उनले दुई वर्ष नेपाल टेलिकममा भनसून गराएर जागिर खाए । सूर्यटोवाको कम्पनीमा दुईवर्ष सुरक्षा गार्डको काम पनि गरे ।
तर समयक्रमसँगै उनको जीवनमा अकल्पनीय ठूलो सङ्कट आइलाग्यो । २०५६ सालमा श्रीमतीसँगको झगडामा श्रीमतीको मृत्यु भएपछि हत्याको अभियोगमा उनले सात वर्ष जेल सजाय काट्नुप¥यो ।
पासवानका दुईवटा श्रीमती भएकोमा एकको हत्या भयो र दोस्रोको पक्षघातका कारण निधन भयो । उनका दुई छोरी हाल सिरहामा आफन्तकहाँ बस्छन् ।
पासवानले २०६२ सालतिर जेलमुक्त भएपछि सिकर्मी र डकर्मी काम गरे । यतिबेला कवाडी सामान सङ्कलन गर्दै दैनिक ३० देखि १५० सम्म कमाएको आम्दानीबाट निक्कै कष्टपूर्ण एक्लो जीवन बिताइरहेका छन् ।
अन्य सम्पत्तिको नाममा ऊसँग नागरिकता र सेनाको परिचयपत्र थियो । ती पनि राति सुतेको अवस्थामा चोरी भयो ।
आफूलाई भूमिहीन भनी परिचय दिने पासवानको बाबुको नाउँमा इटहरीमा १३ धुर जग्गा रहेको र त्यसलाई अहिले आफन्तले मिचेर खाएको उनी बताउँछन् ।
पासवानका सात जना दाजुभाइमध्ये एक सशस्त्र प्रहरीमा जागिरे थिए । दुर्घटनामा उनको मृत्यु भएको थियो भने बाँकी अरू सबै सुकुम्बासी छन् ।
जातीय छुवाछुतको नाउँमा राजनीति गर्ने र गैरसरकारी संस्था चलाउनेलाई पासवानको बास्तविकता बुझ्न फुसर्द छैन । पासवानजस्ता पीडित नागरिकको दुर्दशाप्रति राज्यबाट कहिले दृष्टि पुग्ला नपुग्ला भन्न सकिंदैन ।
श्रोत: http://mechikali.com
No comments:
Post a Comment