Sunday, January 9, 2011

खोई त दलित गणराज्य?

खोई त दलित गणराज्य?


हजारौं वर्षदेखि शोषित-पीडित नेपालका दलितहरूलाई यतिबेला पनि अधिकारविहीन बनाइँदैछ । सवाल हो, नेपालको जातीय गणराज्य घोषणा र नेपालका ३२ लाख  दलितको गणराज्यमा नाम नआउनु । के नेपालका दलितहरूको कुनै राज्य छैन ? के नेपालका दलितहरूमा कुनै अधिकार छैन ? यदि छ भने खै दलित गणराज्य ?

के दलित मानव होइनन् ? के दलितले नेपालको कानुनअनुसार मानवले गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउँदैनन् ? यदि पाउँदैनन् भने हामी पनि आफ्नो  अधिकारका लागि लड्न तयार छौं । होइन भने सबैले पाउने अधिकार हामीले पनि पाउनुपर्छ । दलितलाई बन्दुक बोकाएर शासन गर्ने, धार्मिक भ्रम फैलाएर हामीमाथि अझै अत्याचार गर्ने अधिकार अब कसैलाई छैन ।

संसार विकसित भैसकेको छ । अब अत्याचार गर्ने यो संसार रहेन । सबैले आफ्नो अधिकारका लागि ज्यान लिन पनि जानेका छन् र दिन पनि । यो कुरा अहिलेका  सत्ताधारी र सडकधारीले बुझ्नु आवश्यक छ । दलितहरूलाई अधिकारविहीन बनाइँदैछ । दलितलाई राजनैतिक लोभ देखाएर उल्लू बनाइँदैछ । यो कुरा दलितको नाममा  राजनीति गर्नेहरूले किन बुझ्दैनन् ? प्रश्न ती दलित नेताहरूलाई, तिमीहरू दलितका नाममा राजनीति गर्छौ भने कुन दलितलाई के अधिकार दिलायौ ? खै कहाँ छ दलित  गणराज्य ? खै कहाँ बोल्यौ ? अन्तर्जातीय विवाहलाई सर्वोच्चले रोक लगाउँदा किन नाममात्रको राजनीति गर्छौ ? किन बिकेको राजनीति गर्छौ ? अब अरूको पोल्टाभित्र  बसेर राजनीति गर्न छोड । होइन भने त्यो दिन नजिकै आउँदै छ- शोषित-पीडित दलितबाट तिम्रो अन्त्य हुने ।

नयाँ संविधान लेखिँदैछ । नयाँ संविधानमा दलित अधिकार कहाँ ? अबको संविधानमा पनि दलितहरूले स्थान पाउँदैनन भनेर बस्नु भनेको चिन्ता र शोकको कुरा मात्र हो ।  अधिकार त अब हामी आफैं खोज्नुपर्छ । उठ हे दलित हो, अरूका लागि सधैं किन मर्छौ ? अरूका लागि सधैं किन अधिकार खोज्छौ ? होइन भने तिमी फेरि पनि हजारौं  वर्षसम्म पीडित हुनेछौ, शोषित हुनेछौ, सधैंको छिःछिः र पानी छिटो हाल्नेछन्, मरेको सिनो खान गुहार्नेछन्, के हामी पशु हौं अरूले खा भने खाने नखा भने नखाने ? यो  त पशुले पनि मान्दैन, हामी त मानव हौं, अरू नेपाली नागरिकले जति अधिकार पाउँछन्, त्यो हामीले पनि पाउनुपर्छ । यदी हामी अधिकार पाउँदैनौ भने यो राज्यलाई  हामी माथि राज गर्ने अधिकार पनि छैन । होइन भने राज्यले पनि अधिकार दिने चेष्टा गरोस् । मानवताको हैसियतमा, नेपाली जनताले जति पाउनुपर्ने अधिकार हो त्यो  दलितको पनि हो । अबका दिनमा राज्यले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम नगरोस्, दलितहरू उठे भने राज्यलाई पनि थेग्न गाह्रो होला ।

पूर्ण विक (पहाडी)
नोट:- यो लेख साप्ताहिक बाट साभार गरिएको हो)